#समाचार

रोनाल्डोको दुई गोलमा अल नासरको जित

११ मंसिर, काठमाडौं । एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको सुरूवातमै गोल भएको थियो । ४६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसैगरी ५८औं मिनेटमा गाब्रियलले टोलीको अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अग्रसर गराएका थिए । योसँगै रोनाल्डोले आफ्नो करियर गोलसंख्या ९१३ पुर्‍याएका छन् ।

७५औं मिनेटमा जोसेलुले गोल फर्काएपनि घराफा खेलमा फर्कन भने सकेन । ८४औं मिनेटमा सेडोयु सानोले रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही समय घराफा १० खेलाडीमा सीमित बनेको थियो ।

यस जितसँगै एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत समूह बी मा रहेको अल नासरको ५ खेल मा १३ अंक भएको छ र दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *