#समाचार

त्रिभुवन विमानस्थलबाट ४ महिनामा सवा ५३ अर्बको वैदेशिक व्यापार

११ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार महिना (साउन–कात्तिक) अवधिमा सवा ५३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार त्रिभुवन विमानस्थल नेपालको मुख्य भन्सार बिन्दुमध्ये एक हो । काठमाडौं विमानस्थलबाट ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ७.९७ प्रतिशत हो । यस वर्ष पहिलो चौमासिकमा ५ खर्ब १३ अर्ब बराबर वैदेशिक व्यापार भएको छ ।

यो विमानस्थलबाट चार महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । तेस्रो मुलुकमा वस्तु निर्यात गर्न त्रिभुवन विमानस्थल बढी प्रयोगमा आउने गर्छ । कुल निर्यातमा काठमाडौं विमानस्थलको हिस्सा २३.४५ प्रतिशत छ ।

यस वर्ष पहिलो चौमासिकमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । नेपालमा कुल २८ भन्सार बिन्दुबाट व्यापार भएको छ । जसमध्ये आयात र निर्यात दुवैमा वीरगञ्ज मुख्य बिन्दु हो । नेपालका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट भने वैदेशिक व्यापार नगन्य छ । त्यसमा पनि पोखराबाट भने शून्य छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *