३ किलो सुन तस्करी प्रकरणमा असई निलम्बित
फाइल तस्वीर
१० मंसिर, काठमाडौं । ३ किलो सुन तस्करी प्रकरणमा जोडिएपछि नेपाल प्रहरीका असई निलम्बित भएका छन् ।
नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत असई सविन तिवारी निलम्बनमा परेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले छानबिनका लागि निलम्बन गरिएको बताए । ‘छानबिनका लागि भनेर निलम्बन गरेका छौं । अब उहाँको संलग्नता के कस्तो हो भन्ने खुलिसकेको छैन’ प्रवक्ता कार्कीले भने ।
रसुवाको केरुङ नाकाबाट तस्करी भएर आएको ३ किलो सुन बाटोबाटै हराएपछि तस्कर समूहले भरियालाई अपहरण गरेको थियो । सुन गायब भएपछि तस्कर समूहले भरिया एवं गाडीका चालक रामकृष्ण वाइबालाई अपहरण गरी बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएको थियो ।
२४ साउनको यो घटनामा संलग्न भएको आरोपमा केही दिन अघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४ जनालाई पक्राउ गरेको थियो ।
रसुवाको गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवाको धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका–१, राम्चेका ४८ वर्षीय गोपाल तामाङ पक्राउ परेका छन् ।
कन्टेनर चालक वाइबाले सुन आएको बारे जानकारी आफ्ना मामाका छोरा निमा छिरिङ तामाङलाई दिएका थिए । निमाले उक्त जानकारी असई तिवारीलाई दिएको खुलेको छ । त्यसपछि तिवारीले उक्त जानकारी राजश्व अनुसन्धान विभागमा कार्यरत सशस्त्रका डीएसपी सञ्जय अधिकारीलाई दिएको खुलेको छ ।
तर उक्त सुन खानीखोला आइपुगेपछि लुटिएको थियो । खानीखोलामा हतियारसहितका अज्ञात व्यक्तिले चालकलाई धम्क्याउँदै सुन लुटेका थिए । नेपाल प्रहरीलाई खबर नगरी राजश्वको टोलीलाई खबर गरेको र यही बीचमा तस्कर समूहबीच कनेक्सन गरेर लुटपाटको भूमिका खेलेको हुनसक्ने आशंका असईमाथि छ ।