#पर्यटन

विश्वकपदेखि आइपीएल जितेकासम्म

८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।

८ टोलीको सहभागिता रहने प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै लुम्बिनी लायन्सले पनि खेल्दै छ । यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । उनीसँगै राष्ट्रिय टोलीका विस्फोटक ब्याटर सन्दीप जोरा तथा राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, अर्जुन साउद र सूर्य तामाङ पनि टोलीमा छन् ।

टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका कन्सल्टेन्ट प्रशिक्षक रहेका नन्दन फाड्निस छन् भने कन्सलटेन्ट प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी शक्ति गौचन छन् । शक्ति हाल नेपाली यू-१९ टिमको प्रशिक्षक समेत हुन् ।

एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।

लुम्बिनीले हालसम्म पाँचजना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ जसमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङदेखि क्यानडाका कीर्तिमानी अलराउण्डर साद बिन जफरसम्म छन् । त्यस्तै इंग्ल्याण्डका टम मुर्स, अमेरिकाका भारतीय खेलाडी उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमण्ड्स पनि टोलीमा छन् ।

कस्ता छन् लुम्बिनीका विदेशी खेलाडीहरू ?

बेन कटिङ

बेन कटिङ

अस्ट्रेलियाका अलराउण्डर बेन कटिङले दाँयाहाते ब्याटिङका साथै मिडियम पेस बलिङ गर्छन् । अस्ट्रेलियाका लागि ७ टी२०आई मात्र खेलेको भएपनि उनले सबैखाले गरेर २१२ टी२० खेल खेलेका छन् र १४५ को स्ट्राइक रेटले २९२१ रन बनाएका छन् । त्यसैगरी उनले १३७ विकेट पनि लिएका छन् ।

कटिङले अस्ट्रेलियाको चर्चित बिग ब्यास लिगदेखि आइपीएलसम्म खेलेका छन् । सन् २०१६ को आइपीएल हैदराबादले जित्दा उनी फाइनलको म्यान अफ दि म्याच भएका थिए । यीबाहेक उनले बंगलादेश, श्रीलंका र क्यारेबियन प्रिमियर लिगलगायत पनि खेलेका छन् ।

टम मुर्स

इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सले बाँयाहाते ब्याटिङ गर्छन् । उनले टी२० मा १४७ खेल खेल्दै २३११ रन बनाएका छन् । १३१ को स्ट्राइक रेटमा ब्याटिङ गर्ने उनी ठुलो शट खेल्न सक्षम खेलाडी हुन् ।

उनले इंग्ल्यान्डको अन्डर१९ टोलीबाट खेलिसकेका छन् भने भाइटालिटी ब्लास्ट, द हन्ड्रेड, पीएसएल, बङ्गलादेश र श्रीलंका प्रिमियर लिगजस्ता फ्रेन्चाइज लिगहरू खेलेका छन् ।

उन्मुक्त चन्द

भारतका लागि यू-१९ विश्वकप जिताएका विकेटकिपर ब्याटर चन्द हाल अमेरिकामा छन् । भारतको राष्ट्रिय टोलीबाट मौका नपाएका उनले अमेरिका गएर खेल्न थालेपनि अमेरिकी टोलीमा पनि मौका पाउन सकेका छैनन् ।

दाँयाहाते ओपनर ब्याटर चन्दले सबैखाले टी२० मा गरेर ९० खेल खेल्दा १७९५ रन बनाएका छन् ।

उनले अहिले अमेरिकाको मेजर लिग क्रिकेट खेल्नुअघि आइपीएल पनि खेलिसकेका छन् भने बिग ब्यास लिगमा पनि केही खेलहरू खेलेका छन् ।

रामोन सिमण्ड्स

वेस्ट इन्डिजका बायाँ हाते पेस बलर सिमण्ड्सले युवा उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

बाँयाहाते बलर सिमण्ड्सले ११ टी२० खेल खेल्दा १७ विकेट लिएका छन् । उनले सीपीएल क्रिकेट खेलेका छन् भने इन्टरनेशनल लिगका लागि टिममा परेपनि मौका भने पाएनन् ।

दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

साद बिन जफर

क्यानडाका कीर्तिमानी अलराउण्डर जफरले क्यानडाको राष्ट्रिय टोलीबाट लामो समयदेखि खेलिरहेका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव लुम्बिनीको टिमलाई बाँड्न सक्छन् ।

२००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका उनले क्यानडाको राष्ट्रिय टोलीका लागि ओडिआई र टि२०आई दुवै खेलेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङ गर्ने उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चारै ओभर मेडन राख्दै किर्तिमान समेत बनाएका छन् । सन् २०२१ मा पानामाविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा कुनैपनि रन नदिई २ विकेट लिएका थिए ।

जफरले क्यानडाका लागि ४९ टी२०आई खेल्दा ५५ विकेट लिएका छन् भने ब्याटिङबाट ३९० रन पनि बनाएका छन् । त्यस्तै सबैखाले टी२०मा ५५ खेलबाट ५७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा केही खेलहरू खेलेका छन् ।

विश्वकपदेखि आइपीएल जितेकासम्म

कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

Leave a comment

Your email address will not be published. Required fields are marked *