धवनको आगमनले चर्चामा कर्णाली, स्वदेशी र विदेशीमा सन्तुलित टोली
६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली टिमको स्वामित्व लिएदेखि नै चर्चा रहेको टिम हो कर्णाली याक्स ।
कर्णाली अक्सनअघि नै भव्य कार्कय्रम गर्दै लोगो रिभेल कार्यक्रम गरेको थियो । साथै राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
कर्णाली याक्स एनपीएलमा सबैभन्दा ठूलो स्टार खेलाडी भित्र्याउने टिम समेत हो । कर्णालीले भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलका लागि अनुबन्ध गरेर ठूलो चर्चा कमाएको छ । उनी ४ देखि ५ खेल खेल्नका लागि नेपाल आउनेछन् । एनपीएलका लागि अनुबन्ध हुने धवन सबैभन्दा ठूलो नाम हो र भारतका लागि खेलेर नेपालमा फ्रेन्चाइज लिग खेल्न आउन लागेको पहिलो खेलाडी समेत हुन् ।
हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्की खेलाडीमा हाल राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी छन् । सोमपाल नेपालका लागि दुईवटा टी२० विश्वकप खेल्ने एक्लो खेलाडी हुन् र अहिले राष्ट्रिय टिममा भएका मध्ये सबैभन्दा अनुभवी र पुराना खेलाडीमा पर्छन् ।
सोमपालसहित कर्णालीमा राष्ट्रिय टिमका अलराउण्डर गुल्शन झा र ब्याटर देव खनाल पनि छन् । यस्तै उमेर समूहबाट खेलिसकेका नन्दन यादव, यू-१९ टिमका कप्तानी उमेर समुहको कप्तानी गरेका रित गौतम, राष्ट्रिय टिममा परिसकेका मौसम ढकाल, भुवन कार्कीजस्ता खेलाडी पनि छन् ।
यस्तै यू१९ बाट खेलेका दिपक डुम्रे, नेपाल ए बाट खेलेका अर्जुन घर्ती पनि कर्णाली याक्समा छन् ।
अक्सनमा सुरुवाती चरणमा ठिकठाक रहेको कर्णाली पछिल्लो चरणमा राम्रो खेलाडी अनुबन्ध गर्न सफल भएको थियो ।
कर्णालीमा मार्की खेलाडी अनुभवी सोमपाल रहँदा प्रशिक्षक भने सबैभन्दा युवा छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा आफ्ना जमानाका क्लासिकल ब्याटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक र डिरेक्टर अफ क्रिकेटमा छन् ।
कर्णालीको टिममा राष्ट्रिय टिम र घरेलु क्रिकेटमा राम्रो खेलेका खेलाडीहरु छन् । पेपरमा हेर्दा सन्तुलित देखिएको कर्णाली याक्स विदेशी खेलाडी थपिएपछि झन् बलियो देखिएको छ ।
कर्णालीले नेपालमा खेलिसकेकासहित विश्वचर्चित शिखर धवनलाई विदेशी खेलाडी कोटामा भित्र्याएको छ । जसमध्ये तीन जना ब्याटर छन् भने एक जना अलराउण्डर छन् । धवनसँगै हङकङका ब्याटर बाबर हायत अनी वेष्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टन कर्णालीले अनुबन्ध गरेको छ । यस्तै पाकिस्तानका अलराउण्डर हुसेन तलात पनि छन् ।
तलात र वाल्टनले यसअघि भएको नेपाल टी२० लिग खेलेका थिए । दुवैलाई टियू मैदानमा खेलेको अनुभव छ । यस्तै बाबार हायतले नेपालमा यसअघि हङकङ राष्ट्रिय टिमबाट र यसअघिको फ्रेन्चाइज लिगहरु खेलेका छन् ।
धवनबाहेक सबै विदेशी खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । जसको फाइदा कर्णालीलाई हुनेछ ।
कर्णाली टिम विदेशीको आगमनपछि सन्तुलित देखिएको छ र प्रशिक्षकमा पनि युवा जोश छ । हरेक पोजिसनमा कर्णालीको राम्रो खेलाडी छन् । टप अर्डर ब्याटिङमा विदेशी खेलाडी राम्रा छन् भने लोअर अर्डर देखि बलिङमा नेपाली खेलाडीहरुले सम्हाल्नेछन् ।
कर्णालीले आफ्नै क्षेत्रका दिपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि टिममा अनुबन्ध गरेको छ ।
कर्णालीको टिमको विशेषता भनेको टिममा रहेका विदेशी, आइकोनिक प्लेअर र यू१९ एसिया कपका लागि टिममा परेका युनिश विक्रम ठकुरी बाहेक सबैले कम्तीमा विभिन्न चरणमा नेपालको जर्सी लगाएर खेलेका छन् ।
कर्णाली याक्सको टोली
ओनर : हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनक दत्त खनाल, गृहेन्द्र घिमिरे)
मार्की प्लेअर : सोमपाल कामी
अन्य खेलाडी : गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे
विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन, शिखर धवन
आइकोनिक प्लेअर : विपिन प्रसाद शर्मा
मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टर : ज्ञानेन्द्र मल्ल
ब्राण्ड एम्बासडर : स्वस्तिमा खड्का
बलियो पक्ष : टप अर्डर ब्याटिङ र बलिङ
शिखर धवनसहित विदेशी खेलाडीको आगमनपछि कर्णालीको टप अर्डरदेखि ब्याटिङ बलियो बनेको छ ।
धवन, बाबर हायत र चाडविक वाल्टन सहित घरेलु खेलाडीहरु देव खनाल, रित गौतमले ब्याटिङ लाइन सम्हाल्नेछन् । यसमा अर्का विदेशी पाकिस्तानी अलराउण्डर हुसेन तलात र नेपालका गुल्सन झाले लोहर अर्डरमा साथ दिनेछन् ।
तलात आवश्यकता अनुसार मिडल अर्डरमा जहाँ पनि ब्याटिङ गर्न सक्छन् । यस्तै ओपनिङमा धवनलाई रित वा वाल्टन जसले पनि साथ दिन सक्नेछन् । देव र बाबरले पनि ओपनिङमा खेल्न सक्छन् ।
यसरी हेर्दा कर्णालीको शीर्ष पाँचमा ब्याटर हुनेछन् । यस्तै मार्की प्लेअर सोमपाल पनि ब्याटिङ गर्न सक्छन् । जसले गर्दा कर्णालीको ब्याटिङमा तलसम्मै छ ।
स्पीनर भुवन कार्की र अर्का पेस बलर नन्दन यादव पनि रन बनाउन सक्ने खेलाडी हुन् ।
कर्णालीले चार विदेशी मात्र अनुबन्ध गरेको छ । धवनले ४-५ खेल मात्र खेल्ने भएकोले उनको स्थानमा लिगको पछिल्लो भागका लागि हुने गरी कर्णालीले अर्को विदेशी ल्याउने तयारीमा छ जसको घोषणा हुन बाँकी छ ।
यस्तै वाल्टनलाई विकेटकिपङमा अर्जुन घर्ती र दिपक डुम्रेले पनि साथ दिन सक्नेछन् ।
ब्याटिङबाहेक अलराउण्डर र बलिङ पनि कर्णालीको राम्रो छ । सोमपाल, तलात र गुल्सनसहित नन्दन पेस बलिङमा छन् । यस्तै भुवन कार्कीसँगै स्पीनमा लेग स्पीनर मौसम ढकाल र दीपेन्द्र रावत छन् ।
कमजोर पक्ष : धेरै टप अर्डर ब्याटर
कर्णालीको टिममा टप अर्डरका ब्याटर धेरै छन् । जसले गर्दा ओपनिङ र मिडल अर्डरमा कसलाई कुन पोजिसनमा खेलाउने दुविधा हुन सक्छ ।
पाँच खेलाडीले टप अर्डरमा खेल्न सक्छन् । यस्तै आवश्यकता अनुसार तलात, गुल्सन र सोमले पनि मिडल अर्डमा ब्याटिङ गर्न सक्छन् ।
यस्तोमा फिनसिङ कसले गर्ने भन्ने समस्या हुन सक्छ ।
कर्णाली याक्सको खेलहरू :