#गण्डकी

सभामुख घिमिरे कम्बोडिया प्रस्थान

७ मंसिर, काठमाडौं । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।

५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आज राति पौने १० बजे थाई एयरवेजको जहाजबाट कम्बोडिया प्रस्थान गरेका हुन् ।

उनी मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल छन् । कम्बोडियामामा नै रहेका प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।

११ औं बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद र नागरिक समाजबीचको समन्वय एवं सहअस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

सभामुख घिमिरेले बैठकमा नेपालको संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणको अवसरमा सभामुख घिमिरेले कम्बोडिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।

कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल मंसिर ११ गते मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *