#राष्ट्रिय

चिकित्सा शिक्षा आयोगको बैठक आइतबार बस्दै, यी ९ एजेन्डामा छलफल हुने

७ मंसिर, काठमाडौं।चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दैछ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने भएको छ ।

आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०÷८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुनेछ । त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ।

विद्यार्थीको चासोको विषय बनेको स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकको निर्वाह भत्ता र पिजी सिट विषय भने कार्यसूचीमा परेको छैन। यद्यपि निजी मेडिकल कलेजहरूको छाता संस्थाका प्रतिनिधिले बैठकमा यो विषय उठाउने तयारी गरेका छन्।

आयोगले पिजी अध्ययनरत चिकित्सकलाई आठौं तहको तलब बराबर निर्वाह भत्ता दिने निर्णय गरेपछि कलेज सञ्चालकले विरोध गर्दै पिजी कक्षा सञ्चालन नगर्ने जनाएका छन् । उनीहरूले आयोगमा सेल्फ अप्रेजल फर्मसमेत नभरेका कारण पिजी कक्षा अन्योलमा परेको छ।

बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।

यस्ता छन् आयोगको पन्ध्रौं बैठकका विषयहरु

१. आर्थिक वर्ष २०८०/०८१ मा आयोगद्वारा सम्पादित प्रमुख कार्य र उपलब्धिहरूको समीक्षा

२. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७४ को दफा ४ को उपदफा (२) बमोजिम आयोगको लोगो स्वीकृति सम्बन्धी

३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी

४. आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी

५. चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृति सम्बन्धी

६. राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ को प्रावधान अनुसार चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी

७. चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था र शैक्षिक कार्यक्रम टुक्रयाई स्वामित्व हस्तान्तरण र स्थानान्तरण सम्बन्धी

८. चिकित्सा शिक्षातर्फ छात्रवृत्तिमा अध्ययन गरी बीचमै अध्ययन छाडेका विद्यार्थीका सम्बन्धमा

९. विविध

चिकित्सा शिक्षा आयोगको बैठक आइतबार बस्दै, यी ९ एजेन्डामा छलफल हुने

छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ?

Leave a comment

Your email address will not be published. Required fields are marked *